नेपालमा आर्टिफिसिएल इन्टेलिजेन्स प्रवर्द्धन गर्न एआई एसोसिएसन नेपालको स्थापना: एआई नीतिमा सरोकारवालासँग छलफल
एआई नीतिले नैतिक र समावेशी एआई अभ्यासलाई आधार बनाउँदै समग्र समाजलाई लाभ पुर्याउने उद्देश्य लिनुपर्ने बताए।
नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार एआई प्रविधि प्रवर्द्धन गर्न एआई विज्ञ, उद्यमी तथा अनुसन्धानकर्ताहरूको संयुक्त पहलमा ‘एआई एसोसिएसन नेपाल’ स्थापना भएको छ। एसोसिएसनको अध्यक्षमा मेरो जबका संस्थापक शैलेन्द्र राज गिरि चयन भएका छन्। एसोसिएसनले एआई अनुसन्धान, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्दै राष्ट्रिय समाधानहरू विकास गर्ने लक्ष्य लिएको बताइएको छ।
एसोसिएसनद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष गिरिले एसोसिएसनले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवाजस्ता क्षेत्रमा एआई प्रविधिको प्रभावकारी प्रयोगमार्फत चुनौतीहरूको समाधान खोज्ने उद्देश्य राखेको र त्यसका लागि एआई शिक्षा तथा उद्योगसँग सम्बन्धित परियोजनाहरूलाई सहयोग गर्दै अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने, एआई सँग सम्बन्धित प्रशिक्षण, कार्यशाला तथा सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाको योजना रहेको बताएका छन् ।
नेपाल सरकारले हालै जारी गरेको एआई नीतिका बारेमा सरोकारवालाहरूसँग परामर्श गर्न आयोजित उक्त कार्यक्रममा संस्थाका कार्यकारी सदस्य अधिवक्ता सन्तोष सिग्देलले मस्यौदाको विश्लेषण गर्दै प्रस्तावित एआई नीतिले नैतिक र समावेशी एआई अभ्यासलाई आधार बनाउँदै समग्र समाजलाई लाभ पुर्याउने उद्देश्य लिनुपर्ने बताए।
कार्यक्रममा एसोसिएसनले एआई सम्बन्धी नीतिगत बहसहरू, एआई अनुसन्धान अनुदान कार्यक्रम र ओपन सोर्स एआई स्रोत केन्द्र स्थापना लगायतका कार्यहरू अगाडि बढाउने जानकारी दिँदै अनुसन्धानकर्ता, उद्यमी लगायत सबै सरोकारवालाहरूलाई नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार एआई प्रविधि प्रवर्द्धनमा सहकार्य गर्न आह्वान गरेको छ।